लुम्बिनी विकास कोषको ध्यान लुम्बिनी गुरूयोजना पूरा नगर्दै कपिलवस्तु गुरूयोजनातर्फ मोडियो

लुम्बिनी विकास कोषको ध्यान लुम्बिनी गुरूयोजना पूरा नगर्दै कपिलवस्तु गुरूयोजनातर्फ मोडियो

पन्ध्र वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने लुम्बिनी विकास गुरूयोजना ४२ वर्ष बितिसक्दा पनि पूरा गर्न नसकेको लुम्बिनी विकास कोषले कपिलवस्तु गुरूयोजना सम्बन्धमा छलफल सुरू गरेको छ । लुम्बिनीको व्यवस्थित विकासका लागि जापनिज वास्तुविद् प्राध्यापक केन्जियो टांगेले सन् १९७८ मा लुम्बिनी गुरूयोजना बनाई सोही अनुरूप विकास गर्न नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए।

सन् १९६७ मा लुम्बिनी आएका संयुक्त राष्ट्रसंघका तेस्रो महासचिव उथान्तले अस्तव्यस्त र लथालिंग लुम्बिनीको अवस्था देखेपछि नेपाल सरकार समक्ष लुम्बिनी विकासको गुरूयोजना बनाएर अघि बढ्न प्रस्ताव गरेका थिए।

ऊथान्तको सोही प्रस्ताव अनुसार वास्तुविद् टांगेले सन् १९७२ मा सुरू गरेको लुम्बिनी गुरूयोजना सन् १९७८ मा पूरा गरी सरकारलाई हस्तान्तरण गरेका थिए। तर ४२ वर्ष पुगिसक्दा पनि लुम्बिनी गुरूयोजनाको ८५ प्रतिशत पनि काम पूरा हुन सकेको छैन। लुम्बिनी विकास कोषले भने लुम्बिनी गुरूयोजना पूरा नगर्दै कपिलवस्तु गुरूयोजनाको लागि छलफल अगाडि बढाएको छ।

कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मेत्तेय) ले कनकमुनि बुद्ध र कक्रुछन्द बुद्धको जन्मस्थल तथा बुद्धको जीवनसँग सम्बन्धित ऐतिहासिक तथा साँस्कृतिक रूपले अत्यन्तै महत्वपूर्ण कपिलवस्तुको पुरातात्विक क्षेत्रलाई समेटेर एकीकृत गुरूयोजना बनाउन थालिएको जानकारी दिए।

प्राध्यापक केन्जो टांगेले बनाएको लुम्बिनी गुरूयोजनाको काम करिब अन्तिमतिर पुगेकाले कोषको अबको ध्यान कपिलवस्तुतिर हुने भिक्षु मेत्तेयले बताए। कपिलवस्तु गुरूयोजना बनाउने विषयमा तौलिहवामा छलफल समेत भएको छ।

पूर्वमन्त्री तथा सांसदहरूले कपिलवस्तुको विकासको अभिन्न अंगको रूपमा रहेको पुरातात्विक क्षेत्रको संरक्षण र संवर्द्धनले कपिलवस्तुलाई साँस्कृतिक र पर्यटकीय सहरको रूपमा विकास गर्न टेवा पुग्ने भएकाले सोही अनुरूप गुरूयोजना बनाउन आग्रह गरेका थिए। लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनी विकास कोषले लुम्बिनी गुरूयोजनाको काम सम्पन्न गर्न लागिरहेकोले अबको ध्यान कपिलवस्तुमै केन्द्रिकृत गर्ने बताए।

कपिलवस्तुको तिलौराकोट, कुदान, अरौराकोट, निग्लिहवा, सिसनिया, गोटिहवा र सगरहवाको एकीकृत योजना बनाएर कामको थालनी गरिने छ। लुम्बिनी विकास कोषले आर्किटेक्ट इन्जिनियर डा. सन्जय न्यौपानेको नेतृत्वमा कपिलवस्तु गुरूयोजना बनाउन थालेको छ। डा. न्यौपानेले यसअघि रामग्राम गुरूयोजना समेत बनाएका थिए।

समाज