समुदायमा गुमनाम रहेकाे चैत्य चिनाएर आफैं गुमनाम भए तिब्बतीय भिक्षु

बुद्धिरत्न तुलाधर असनका ‘घ्यू साहु’ हुन्। उनको परिवारले सात पुस्तादेखि घ्यू–तेल बेच्दै आएको छ। बहत्तर वर्षअघि बुद्धिरत्न जन्मँदा असन र काठमाडौं दुवै अहिलेजस्तो थिएन। असनको गल्लीमा भीड कम हुन्थ्यो, काठमाडौंको बागमतीमा धेरै पानी बग्थ्यो। पानी सुक्दै गयो, भीड फुक्दै गयो। अहिले असनको भीड छिचोल्न मुश्किल छ, बागमतीको पानी पिउन सकिन्न।

बुद्धिरत्न आफैं पनि पुर्खाको थात छाडेर छोरा–नातिको पुस्ता पछ्याउँदै म्हेपी सरेको बाह्र वर्ष बितिसक्यो। यो बाह्र वर्षमा पछिल्लो कोरोना याम छाड्ने हो भने सायदै कुनै दिन होला, जब बुद्धिरत्नले असनमा पाइला टेकेनन्।

असनसँग बुद्धिरत्नको नाभी जोडिएको छ। त्यहाँको हावामा उनलाई पुर्खाको सम्झना बसाउँछ। दिनको एकचोटि असन पुगेर आफूलाई चिन्ने मान्छेहरूसँग गफिन पाएनन् भने उनी बास हराएको पन्छीजस्तो फड्फडाउँछन्।

अचेल त असनमा उनलाई चिन्ने मान्छे निकै कम भइसके। पुराना परिचितहरू आ–आफ्नो घर बहालमा लगाएर उनीजस्तै लाखापाखा लागेको धेरै भइसक्यो। तै असनले उनलाई तानेकै छ। केही दिनअघि उनी मसँग भन्दै थिए, ‘असनका गल्ली चहार्दा मलाई गज्जबको आनन्द आउँछ बाबु। यहाँबाट बसाइँ सरे पनि मेरो आत्मा यहीँ बसेको छ।’ उनले यो कुरा जति भावुक हुँदै सुनाए, त्यति नै भावुक सुनिए अर्को एउटा सम्झनाले, जुन उनको पैतृक परम्परासँग जोडिएको छ।

नेपाल सम्बत् क्यालेन्डरअनुसार श्रीघः पुन्हीको दिन बौद्धमार्गी नेवारहरू आ–आफ्नो कुलको चैत्यमा पूजा गर्न जान्छन्। कोजाग्रत पूर्णिमाको अघिल्लो दिन पर्ने यो वार्षिक पूजाले समुदायमा ठूलो महत्व राख्छ, किनभने यो पुर्खाले बनाएको चैत्यको वार्षिकोत्सव समारोह हो। त्यस दिन चैत्य फेरो मार्दा पितृहरूलाई नै फेरो मारे बराबर हुन्छ भन्ने विश्वास गरिन्छ।

यस्तै पूजा निम्ति बुद्धिरत्न र उनको परिवार ठमेलको ‘अशोक चैत्य’ जान्थे। छत्रपाटी र ज्याठाबाट ठमेलतिर सोझिने बाटो जुन चोकमा आएर जोडिन्छ, त्यहाँबाट अलिकति अगाडि बढ्दा दाहिनेतिर पर्छ यो चैत्य।

श्रीघः पुन्हीको दिन कुलका सबै यहाँ भेला हुन्थे, पूजापाठ गर्थे, समयबजी खान्थे। जन्मदिन, बिहे–ब्रतबन्ध, इहीः र बारा (गुफा) राख्दा पनि यही चैत्यमा पूजा लिएर जानुपर्थ्यो। बुद्धिरत्नले थाहा पाएदेखि यो रित टुटेको थिएन। समयक्रममा ठमेल पनि असनजस्तै खुम्चिँदै गयो। बजारमा चहलपहल बढ्यो, चैत्य भने चकमन्न भयो।

वरिपरि घरहरू ठडिए, पर्खाल बने। तिनै पर्खालले घेरिएर चैत्य छिर्ने बाटो छेकियो। पूजा गर्न जाँदा पर्खाल नाघ्नुपर्ने नौबत आयो। हुँदाहुँदा चैत्यको आँगनमै फोहोरको डुंगुर लाग्न थालेपछि त लश्करै बसेर समयबजी खाने भुइँधरि भएन। दिक्क भएर एकदिन उनीहरूले वार्षिक पूजामै पूर्णविराम लगाइदिए।

पुस्तौं पुस्तादेखि चल्दै आएको कुलको परम्परा टुट्यो,’ बुद्धिरत्नले दुःखमनाउ गरे, ‘पच्चीस वर्ष भयो, हामीले आफ्नै चैत्यमा पूजा गर्न पाएका छैनौं। जीर्णोद्धारअघि जीर्ण अवस्थाको अशोक चैत्य। तस्बिर: अशोक स्तुपको फेसबुक
आज म तपाईंहरूलाई ठमेलको त्यही चैत्यमा लिएर जाँदैछु। रमाइलो त के भने, म पनि तपाईंहरूजस्तै पहिलोपटक जान लागेको। बुद्धिरत्नको मुखबाट धेरै कुरा सुने पनि मैले यो चैत्य देखेकै थिइनँ। यात्रामा हामीसँग छन्, आलोकसिद्धि तुलाधर। तपाईं सम्पदा र संस्कृतिसम्बन्धी मेरा लेखहरू पढ्नुहुन्छ भने आलोकलाई राम्ररी चिन्नुहुन्छ होला। पढ्नुहुन्न भने पनि म चित्त दुखाउन्न।

सम्पदा र संस्कृति संरक्षणमा काम गर्ने आलोक मेरा काठमाडौं गाइड हुन्। हामीले धेरैचोटि यहाँका गल्ली र चोक एकसाथ नापेका छौं। अघिल्लो शनिबार पनि असनको चापाचाप भीड छिचोलेर ज्याठा हुँदै हामी ठमेल पुगेका थियौं।

About admin

Check Also

यस पटक मौसमले साथ दिएपछि चियाको उत्पादन बढ्यो

इलाम, कात्तिक २७ । विगत वर्षको तुलनामा यस वर्ष (अन्तिम सिजन/अटम सिजन) को चिया बढेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *