नेपालको एक वर्षका खेल तालिका कोरोनाका कारण प्रभावित

नेपालको एक वर्षका खेल तालिका कोरोनाका कारण प्रभावित

कोरोना महामारी नभएको भए अहिले खेलकुदको माहोल उचाइमा हुन्थ्यो। फिफा विश्वकप २०२२ छनोट खेलले फुटबलको महोल बनाउँदा क्रिकेटको अन्तर्राष्ट्रिय भ्रमणले नेपाली खेलकुद चर्चित हुन्थ्यो।

राष्ट्रिय खेलाडीहरू फागुनको तेस्रो साता गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तीब्र तयारीमा व्यस्त हुन्थे। तर कोरोनाले वर्ष भरीको तालिका प्रभावित हुँदा खेलाडीदेखि पदाधिकारीमा नैराश्यता छाएको छ।

फुटबलको विश्वकप छनोट तालिका अन्तिम समयमा आएर स्थगित हुँदा खेलाडीमा निराशापन देखिएको छ। राष्ट्रिय खेलकुद परिषद्को आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिता पनि अन्योलमा परेको छ।

पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता बारे कोभिडका कारण अन्योल भएको र बोर्ड बैठक पछि मात्र थाहा हुने राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला बताउँछन्। यसअघि पूर्वाधारको चुनौतीका बाबजुद पनि प्रतियोगिता सञ्चालन गरी समापन भएका उदाहरण छन्। तर पोखराको आयोजनामा पूर्वाधारको समस्या नहुने पनि कोइरालाले बताए।

उनले खेलकुद चलायमान बनाउनका लागि खेलाडीदेखि सम्बन्धित संघबाट तत्परता देखाउनु पर्ने र सहयोगका लागि परिषद् तयार रहेको स्पष्ट पारे। कोरोना महामारीको बीचमा घरेलु केही चर्चित प्रतियोगिता हुनै पाएनन्। मुखैमा आएको फ्रेन्चाइज क्रिकेट लिग एभेरेष्ट प्रिमियर लिग रोकियो।

तालिका रहेको धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग पनि कोरोनाको चपेटामा परे। मोफसलमा हुने धेरै गोल्डकपदेखि फुटबलका डिभिजन लिगहरूमा कोरोनाको असर देखियो। फाट्टफुट्ट बाहेक एकलदेखि युगलसम्मका खेलकुद गतिविधि अझै फर्किन सकेका छैनन्।

महामारी मापदण्ड अपनाउँदै खेलमा फर्किने वातावरण खेलाडीदेखि खेलसम्बध पदाधिकारीले खोजी रहेका छन्।खेलकुदलाई चलायमान बनाउन पहल भइरहेको उपाध्यक्ष कोइरालाले बताउँछन्।

खेलकुद