प्रचण्डले भने अब पहिलाजस्तो सम्झौता हुने सम्भावना कम भएकाले एउटा निष्कर्षमा पुग्नै पर्छ

प्रचण्डले भने अब पहिलाजस्तो सम्झौता हुने सम्भावना कम भएकाले एउटा निष्कर्षमा पुग्नै पर्छ

नेकपा अध्यक्षले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीसँग पहिलाजस्तो सम्झौता गरेर जाने सम्भावना कम रहेको बताएका छन्। आफूनिकट युवा विद्यार्थीका केही नेतासँग भएको भेटमा प्रचण्डले अब पार्टी बैठक बसेर कुनै न कुनै निष्कर्षमा जाने समेत बताएका छन्।

सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको ठूलो हिस्साले पार्टीभित्र पार्टीको विधि, पद्धतिका पक्षमा र सरकारको कामको गम्भीर समीक्षा गर्ने गरी कुनै न कुनै निष्कर्षतिर जान चाहेको छ, प्रचण्डका भनाइ उद्धृत गर्दै एक युवा विद्यार्थी नेताले भने, अब पहिलाजस्तो सहमति-सम्झौताको सम्भावना अलि कम छ। प्रधानमन्त्रीको रवैया कसरी हुन्छ, पार्टी फुटलाई प्रश्रय दिने भन्ने छ। सहमति-सहकार्य गरेर पार्टी सरकार सञ्चालन गर्नेमा उहाँको ध्यान छैन।

बिहीबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओली नआएमा प्रचण्ड औपचारिक बैठकको बाटोमा जाने पक्षमा रहेको अनेरास्ववियुका सह-संयोजक रञ्जित तामाङले सेतोपाटीलाई बताए। हामी केही साथीहरू प्रचण्डलाई भेटन गएका थियौं। त्यही बेला पार्टीको अहिलेको अवस्थाबारे जान्न चाहेका थियौं। भोलिसम्मको अल्टिमेटममा प्रधानमन्त्री बैठकमा नआए विधि र विधानअनुसार अघि बढ्ने सचिवालयका बहुमत सदस्यको तयारी रहेछ,’ तामाङले भने, ‘पार्टीमा आफू अल्पमतमा भएकैले बैठकको निर्णय मान्दिनँ भनेर प्रधानमन्त्रीले बैठकमा नजाने कुरा गर्नुभएको हो। उहाँ मान्नुभएन भने सचिवालयको समीकरणमा ५ जना एकातिर हुनुहुन्छ। यसमा अरू एक-दुई जना कमरेड पनि थपिन सक्नुहुन्छ।

प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले कात्तिक २७ गते बैठक बोलाउन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन्। तर प्रधानमन्त्री भने बैठकका लागि तयार भएका छैनन्।

पार्टीमा सहकार्य सहमति गर्ने, पार्टीमा विधि-पद्धति स्थापित गर्ने र सरकारको गम्भीर समीक्षा गर्न प्रधानमन्त्रीलाई बैठकमा बोलाउने प्रयास भइरहेको समेत प्रचण्डले युवा विद्यार्थी नेताहरूलाई जानकारी गराएका थिए।

प्रधानमन्त्री ओली राजनीतिक उपलब्धिहरूलाई उल्ट्याउनेतिर, पार्टी एकताविरूद्ध गुट सञ्चालन गर्नेतिर र पार्टी फुटका निम्ति प्रयत्न गर्नेतिर गएको प्रचण्डको आरोप छ। त्यसकै लागि देशभर तयारी समेत भएको प्रचण्डले बताएका थिए।

विकास, समृद्धि र सुशासन होइन आफ्ना वरपरको कोठरीभित्रका मान्छेले गरेका अनेकौं विषयलाई ढाकछोप गर्नेतिर प्रधानमन्त्री लाग्नुभएको छ। यसरी कम्युनिस्ट आन्दोलन बदनाम भयो। त्यसैले अब यसलाई हामीले हल गर्न खोजेका हौं,’ प्रचण्डका भनाइ उद्धृत गर्दै उनले भने, ‘यो नाम मात्रैको कम्युनिस्ट भन्ने र व्यवहारमा कम्युनिस्ट हुनपर्छ भन्नेको कित्ताकाट हो।

प्रचण्डले सरकारका कामहरू एकपछि अर्को गैरजिम्मेवार बन्दै गएको र भ्रष्टाचार मौलाएको समेत आरोप लगाएका थिए। ‘प्रधानमन्त्रीले दम्भ देखाउनुभयो, नजरअन्दाज गर्नुभयो र पार्टीभित्रको जनवादी अभ्यासलाई बेवास्ता गर्नुभयो। एक्लै खालको प्रवृत्ति देखाउनुभएको छ। यो क्रम नरोकिए औपचारिक बैठक बसेर पार्टीले कुनै न कुनै प्रकारको निर्णय गर्छ,’ उनले भने, ‘यतिकै चुप लागेर अराजकता, उदण्डता र अधोगति टुलटुलु हेरेर पार्टी बस्दैन भन्ने हो।’

राजनीति