निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाएर काम गर्ने अर्थमन्त्री पाैडेलकाे भनाई

निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाएर काम गर्ने अर्थमन्त्री पाैडेलकाे भनाई

काठमाण्डाै – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाएर काम गर्ने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई सहयोग र प्रोत्साहन गरेर कोभिड–१९ ले पारेको प्रतिकूलतालाई न्यूनीकरण गर्दै अर्थतन्त्रको पुनर्उत्थान गर्न सकिने बताउनुभयो ।

उहाँले त्यसका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। अर्थमन्त्री पौडेलले प्रतिकूल अवस्थामा स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई विशेष ध्यान दिएर व्यापार, व्यवसाय र उद्योगहरु चलाइ अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गर्नुभयो ।

उहाँले बजेटमा उल्लेख गरिएका राहत र पुनर्उत्थानका कार्यक्रमहरुलाई सबैको साथ लिएर कार्यान्वयन गर्ने बताउनुभयो । अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रका समस्या र कठिनाइलाई बुझ्ने र निजी क्षेत्रले सरकारको सीमा र भूमिकालाई बुझेर अघि बढ्दा धेरै समस्या समाधान सकिने धारणा व्यक्त गर्नुभयो।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले क्रयशक्ति बढाइ आर्थिक क्षेत्रलाई चलायमान बनाउन, व्यापार र उद्योग क्षेत्रलाई सहज रुपमा सञ्चालन गर्ने वातावरण तयार पार्न आग्रह गर्नुभयो । नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री पौडेललाई २२ बुँदे सुझाव दिएको छ ।

देश