प्रधानमन्त्री ओलीले भने बिहानै सरकार परिवर्तन हुने भन्ने समाचार सुन्छु तर याे कसैले चाहेर हुँदैन

प्रधानमन्त्री ओलीले भने बिहानै सरकार परिवर्तन हुने भन्ने समाचार सुन्छु तर याे कसैले चाहेर हुँदैन

सङ्खुवासभा — प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै कुनै पनि हालतमा सरकार परिवर्तन नहुने बताउनुभएको छ । बुधबार सङ्खुवासभाको मकालु गाउँपालिका ५ को फ्याक्सिन्दामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

चीनसँग सिमाना जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका, त्रिदेशीय (भारत, नेपाल र चीन) लिङ्कको रुपमा रहेको उत्तर–दक्षिण कोशी सडक आयोजनाको कोशी करिडोर र सीमा सुरक्षा पोस्ट (बीओपी) र बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाको निरीक्षण गर्न प्रधानमन्त्री सङ्खुवासभा आउनुभएका हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नागरिकको जनमतद्वारा आफू पार्टी अध्यक्ष र प्रधानमन्त्री भएकाले कसैको रहर गर्दैमा प्रधानमन्त्री र सरकार परिवर्तन नहुने स्पष्ट पार्नुभयो । ‘बिहान बिहानै समाचार सुन्छु, सरकार परिवर्तन हुने भनेको सन्छु तर कसैको रहरमा सरकार परिवर्तन हुँदैन । नेकपा पार्टी साना–साना टुक्रा मिलेर बनेकाले फुट्दैन’, ओलीले भन्नुभयो ।

उहाँले दुई वर्ष अगाडि आफैले किमाथाङ्का नाका चाँडै सञ्चालनमा ल्याउने र भारतको जोगबनीदेखि किमाथाङ्कासम्मको तीन सय ९० मिटर उत्तर–दक्षिण कोशी करिडोर दुई लेनको सडक विस्तार गरी सञ्चालन गर्ने देखेको सपना बिस्तारै पूरा हुँदै गएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सडक विस्तार गर्ने क्रममा भोटखोला गाउँपालिकामा १४ किमि सडक विस्तार गर्न समस्या देखिएपछि नेपाली सेनालाई जिम्मा दिइएको र अब चाँडै ट्र्याक ओपन हुने विश्वास लिएको बताउनुभयो । बुधबार बिहान साढे नौ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत सङ्खुवासभा पुग्नुभएका ओली साढे तीन बजे काठमाण्डौ फर्किएको हो ।

राजनीति