चैत कुमारी भन्छिन मैले गरेको काम किन लोप हुन पुग्याे होला

दसैंमा पूर्ण चित्रकारलाई भ्याइनभ्याइ हुन्थ्यो, तिहारमा धौधौ हुन्छ चेतकुमारीलाई। उनीहरू चित्रकार दम्पती हुन्। भक्तपुर, पाँचतले मन्दिरबाट दत्तात्रय जाने बाटोको यांछे गल्लीमा यी दम्पतीको घर छ। भक्तपुर पुगेर ‘नवदुर्गा बनाउने मान्छे’ को घर सोध्ने हो भने सजिलै उनीहरूको घर पत्ता लाग्छ।

पूर्णको विज्ञता नै त्यसैमा हो, नवदुर्गाको ख्वपा (मुकुण्डो) बनाउने। दसैंसम्ममा उनको व्यस्तता बढ्नुको कारण पनि यही हो। नवदुर्गा बनाउने उनी एक्ला चित्रकार भएकाले हाकाहाकी भन्छन् नै, म नभएपछि कसले बनाउला, थाहा छैन। भगवानको काम भएकाले सकुन्जेल बनाउँछु। गाह्रो काम भएकाले कसैले आँट्छु भन्न पनि सकेका छैनन्।

अहिले तिहारको समयमा भने चेतकुमारीको विशेषज्ञताको महत्व छ। यहाँ हामी उनीसँगको गफमा केन्द्रित छौं। चेतकुमारी तिहारलाई चाहिने- भाइपूजा, लक्ष्मीका चित्रहरू परम्परागत शैलीबाट बनाउँछिन्। हामीले बजारमा डिजिटल प्रविधिबाट छापिएका चित्रहरू देख्दै र प्रयोगमा ल्याउँदै आएका छौं। चेतकुमारीले बनाउने चित्र भने फरक छन्, नेवार भाषामा ‘थासा’ भनिने काठको ब्लकमा छाप्दै बनाइएका।

जसरी हामीले ‘स्ट्याम्प’ मा मसी राखेर कापीमा छाप्छौं, थासाको काम पनि त्यस्तै–त्यस्तै हुन्छ। फरक यत्ति हो, थासामा मसी राखेर त्यसमाथि साधा कागज राखेर त्यसको बुट्टा उतारिन्छ। अनि बुट्टामा रङले रंगाइन्छ।

चेतकुमारी जसरी नै अन्य चित्रकार परिवार पनि यस्तै परम्परागत चित्र बनाउँछन्। देवीदेवताको तस्बिर कोर्ने, नाग पञ्चमीमा नाग, दसैंमा भगवती, लक्ष्मी पूजामा लक्ष्मी लेखिदिने उनीहरूको काम हो। भगवानको काम गर्ने भएकाले उनीहरुलाई ‘पूं’ अर्थात पूण्यकार भन्ने चलन पनि छ।

चेतकुमारीले यस्ता पूण्यको काम गर्न थालेको पूर्णसँग बिहे गरेर आएपछि मात्र हो। २०३१ सालमा काभ्रेबाट बिहे गरेर याछेँको यो घर आउँदा उनलाई ठाउँ त नौलो थियो नै, चित्र बनाउने कला पनि नयाँ लाग्यो। श्रीमान नवदुर्गाको ख्वापा बनाउने काम गर्थे। सासूआमा, ससुराबा, दिदीहरू भने तस्बिर रंगाउने लगायत काम गर्थे।

उनीहरूको कामलाई नजिकबाट नियाल्दै गर्दा चेतकुमारीलाई पनि रहर जाग्थ्यो। तर बिग्रेला कि भन्ने डर हुन्थ्यो। यसैकारण, जब सासूआमा बाहिर जान्थिन्, उनी आमाले झैं नक्कल गरेर चित्र बनाउथिन् र रङ भर्थिन्। बिहेपछि केही काम थिएन। यो काम त मैले पनि सिक्नुपर्छ भन्ने लाग्यो,’ ६७ वर्षीय चेतकुमारीले भनिन्, ‘उहाँहरूको अगाडि काम गर्दा बिग्रेला भनेर डर लाग्थ्यो। लुकेर बनाएका चित्र दाँजेर बनाउँदा बनाउँदै उहाँहरूलाई देखाउन सक्ने भएँ।

चित्रकार परिवारका धेरैले चेतकुमारीजस्तै परिवारकै देखासिकी गरेर चित्र बनाउन सिकेका हुन्छन्। पछिल्लो समय भने आधुनिक चित्रहरूले उनीहरूको व्यवसाय धरासायी बन्दै गएको छ। करिब २५ वर्षअघि चेतकुमारी नै भक्तपुरदेखि चित्र बेच्न काठमाडौं आउँथिन्। दुई रूपैयाँका दरले चित्र बेचेर पनि त्यो समयमा करिब १५ हजार जम्मा हुन्थ्यो। अहिले त घरवरिपरिकै केही पसलमा मात्रै उनको चित्र सीमित छ।

त्यसैले त भन्छिन्, ‘चित्र बनाउन मलाई खुसी लाग्छ। तर मैले गरेको काम किन लोप भएको होला भनेर नरमाइलो लाग्छ।’ धर्मशास्त्रअनुसार लक्ष्मीका १६ अवतार छन्। भाग्यलक्ष्मी, मोक्षलक्ष्मी, सन्तानलक्ष्मी, श्रीलक्ष्मी गर्दै कोजाग्रत पूर्णिमाका दिनबाट औंसीसम्म १६ औं लक्ष्मी पुजिन्छ। औंसीसँगै १६ वटै लक्ष्मीको पूजा सम्पन्न हुन्छ।

औंसीका दिन पुजिने लक्ष्मीको स्वरूप फरक हुन्छ। लक्ष्मीका अरू अवतार बसेका हुन्छन् भने औंसीमा जसलाई हामी पूजा गर्छौं, उनी उभिएकी हुन्छिन्। लक्ष्मीलाई विशेषगरी खिर, सेलरोटी, फलफूल, मिठाइ लगायत चढाउने चलन छ। काठमाडौं उपत्यकाका नेवार समुदायले चामलको पिठोले बनेका विभिन्न जनावरका मूर्ति र कहीँकहीँ मासुसमेत चढाउने संस्कृतिविद् ओम धौभडेल बताउँछन्। ‘लक्ष्मी शाकाहारी हुन् तर लक्ष्मी पूजाका दिन मासुको भोग चढाउनुपर्छ। पहिले लक्ष्मीलाई नवमीको दिनको मासु, रक्सी र अन्डा चढाउने गरिन्थ्यो। यो भक्तपुरको चलन थियो। अहिले भने चल्तीमा देखिँदैन,’ उनले भने।

लक्ष्मी पूजाका दिन पुजिने ‘धनलक्ष्मी’ हुन्। आयातित लक्ष्मीका चित्रमा गणेश, सरस्वती आदि देउताका आकृति पनि हुन्छन्। मौलिकमा भने लक्ष्मीको हातमा ज्वला न्हाय्कं (ऐना) र सिन्हः मू (सिन्दुर राख्ने बट्टा) हुन्छ। पित्तल वा चाँदीबाट बनाइएको ज्वला न्हाय्कं नेवार समुदायमा छोरीको बिहे गर्दा नभई हुँदैन। यता लक्ष्मी पनि छोरीकै रूप न हो!

उनका बाँकी दुई हात बरद र अभय मुद्रामा हुन्छन्। लक्ष्मी पनि ललितआसन वा बज्रासनमा बसेकी हुन्छिन्। परम्परागत पौभाः चित्र बनाउँदै आएका लोक चित्रकारका अनुसार अहिले बजारमा मौलिक कलाको चहक हराइरहेको छ। बजारमा पाइने कमलको फूल समाइरहेको, पैसा खसालिरहेको, सारी लगाएको, हेर्दा राम्रो देखिने लक्ष्मी नै बढी चलनमा छिन्। तिनको छेउमा उल्लु पनि हुन्छ। जबकि मौलिक लक्ष्मीमा कछुवा हुन्छ जुन उनको बहान हो।

हामीकहाँ पूजा गर्दा अनिवार्य बिमिरो चाहिन्छ। बिमिरोलाई संस्कृतमा ‘जमधर’ भनिन्छ। लक्ष्मीको सेवकका रुपमा कुबेर र ख्याक हुन्छन्। लोक चित्रकारका अनुसार लक्ष्मीको सेवक कुबेरलाई बिमिरोबाट उत्पत्ति भएको मानिन्छ र जमधर पनि भनिन्छ। यिनीहरू प्रायः तत्कालीन राणाकालीन ‘सैन्य पोसाक’मा बसेको हुने उनले बताए। ख्याकले धनी महाराजहरू कहाँ गएर तर्साएर पैसा उठाएर लक्ष्मीलाई दिन्छन् भने कुबेरले धन सञ्चय गर्छन्।

केही बुढापाकाले चित्रमा दृष्टि पनि चाहिन्छ भन्दा रहेछन्। त्यसैकारण तीनवटा आँखाजस्तो बनाएर चित्रमा टाँसेर जीवन्यास पनि गरिन्छ। लोक आफू पनि पहिला भगवानको काम गर्थे। अहिले उनले काम त छोडेका छैनन् तर परम्परागत शैलीबाट यस्ता चित्र बनाउन छाडिसके, व्यवसायिक चित्र बनाउँछन्। भन्छन्, तत्कालीन समयअनुसार चल्नै पर्‍यो। यस्ता चित्र मात्रै बनाएर जीविका चल्न गाह्रो भएकाले मजस्तै धेरैले परम्परागत भगवानहरू कोर्न छाडिसके।

उनले अगाडि भने, ‘तर अहिले पनि धेरै ढिला भइसकेको छैन। मौलिक चित्रकला जोगाउने समय छ। यत्ति हो, मान्छेले त्यसको महत्व बुझ्नुपर्‍यो।’ मान्छेले यी कलाको महत्व बुझिदिने हो भने चेतकुमारी पनि भन्दी हुन्, ओहो, मैले गरेको काम लोकप्रिय छ। कति खुसी छु!

About admin

Check Also

यस पटक मौसमले साथ दिएपछि चियाको उत्पादन बढ्यो

इलाम, कात्तिक २७ । विगत वर्षको तुलनामा यस वर्ष (अन्तिम सिजन/अटम सिजन) को चिया बढेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *